चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा झन्डै ६८ करोड रुपैयाँ नाफा कमाएको छ। मंगलबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीले गत आवमा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको तुलनामा मात्र ०.१६ प्रतिशत बढी हो। अघिल्लो आवमा नाफा ६७ करोड ८५ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको संचालन नाफा भने ३.६१ प्रतिशत बढेर ७१ करोड रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीले १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ, तर यो अघिल्लो आवको तुलनामा ०.८१ प्रतिशत मात्र वृद्धि हो।
वित्तीय आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो आवको तुलनामा १६.७० प्रतिशत घट्दै यो १३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ७.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।