ग्लोबल आइएमई बैंकको नाफा सवा ६ अर्ब, निक्षेप र कर्जामा दोहोरो अंकको वृद्धि

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशत मात्र बढी हो। अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यो १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ थियो। संचालन नाफा पनि ३.०१ प्रतिशत घट्दै ८ अर्ब ७७ करोड ५ लाख ७८ हजार रुपैयाँ कायम भएको छ।

गत आवमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ। हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ। यस आधारमा बैंकले यस वर्ष १४.११ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ।

प्रतिसेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ। तर, बैंकको खराब कर्जा ४.८७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो।

व्यवसायिक सूचकांक हेर्दा, बैंकको निक्षेप संकलनमा १२.९५ प्रतिशत वृद्धि भई ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ११.४६ प्रतिशत बढ्दै ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख रुपैयाँमा पुगेको छ।