नेपालको आन्तरिक हवाई बजारमा यति एयरलाइन्स पुनः तीव्र गतिमा अघि बढ्दै छ। पोखरा दुर्घटनापछि केही वर्षसम्म दबाबमा परेको कम्पनीले अब व्यापार, यात्रु संख्या र बजार हिस्सामा उल्लेखनीय सुधार गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको छ।
आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा यतिले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले यसअघि २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, २०२२ मा ३ अर्ब ९२ करोड र २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२१ देखि अहिलेसम्म कम्पनीको कुल व्यापार १७ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सन् २०२३ को पोखरा दुर्घटनाले बजार हिस्सा १७ प्रतिशतमा झारेको यतिले २०२४ मा यात्रु संख्या बढाउँदै बजार हिस्सा २१ प्रतिशतमा पुर्याएको छ। यात्रु भर्ना दर पनि ७८ प्रतिशतबाट बढेर ८२ प्रतिशत पुगेको छ। सो वर्षमा दुई नयाँ एटीआर–७२ विमान थपिँदा अहिले कम्पनीसँग ७ विमान छन्, जसमा ६ वटा आफ्नै र १ लिजमा सञ्चालन भइरहेका छन्। यी दुई विमान खरिदमा करिब १ अर्ब ७० करोड रुपैयाँ लगानी भएको छ।
हाल यति एयरलाइन्सले २० आन्तरिक मार्गमा सेवा दिइरहेको छ, जुन अघिल्लो वर्ष १६ मात्र थियो। आम्दानीको ४७ प्रतिशत भने काठमाडौं–पोखरा, पोखरा–काठमाडौं र काठमाडौं–विराटनगर मार्गबाट नै हुने गरेको छ। नाफा दरमा पनि सुधार हुँदै २०२५ को पहिलो ९ महिनामा ५.४७ प्रतिशत पुगेको छ, जुन २०२४ मा २ प्रतिशत मात्र थियो। पछिल्ला तीन वर्षमा यात्रु संख्या १४ प्रतिशत र कारोबार २७ प्रतिशत बढेको छ।
यसैबीच, कम्पनीले झन्डै साढे ६ अर्ब कर्जाको लागि क्रेडिट रेटिङ गराएको छ। हालसम्म ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँको दीर्घकालीन र २ करोड ७१ लाख अमेरिकी डलर बराबरको अल्पकालीन कर्जाको रेटिङ इनफोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले प्रदान गरेको हो। दीर्घकालीन ऋणका लागि ‘ट्रिपल बी माइनस’ र अल्पकालीन सुविधाका लागि ‘ए थ्री’ रेटिङ दिइएको छ।
कम्पनी पूर्ण रूपमा प्रवर्द्धक स्वामित्वमा सञ्चालित छ, जसमा शेर्पा समूहको ५१ प्रतिशत र एशियन लाइफको ४९ प्रतिशत सेयर स्वामित्व छ।