उर्जामन्त्री खड्काको सुझाव– ‘उत्पादन क्षमताअनुसार प्रसारण लाइन निर्माण होस्’

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता स्पष्ट गरेर मात्र प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवमा बुधवार बोल्दै उनले विभिन्न नदीमा सम्भावित उत्पादन क्षमताको एकीन गरेर प्रसारण संरचना बनाउँदा जग्गा र वन अधिग्रहण एकपटकमै सम्पन्न गर्न सकिने बताए।

उनले जलविद्युत परियोजना सञ्चालन गर्दा वातावरणीय असरलाई ध्यान दिनुपर्नेमा जोड दिँदै, उर्जा क्षेत्रलाई मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रूपमा लिनुपर्ने बताए। सरकारले १० वर्षे उर्जा विकासको खाका अघि बढाएको उल्लेख गर्दै, उक्त खाका पूरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहने बताए।

मन्त्री खड्काले आर्थिक विकासमा सबैभन्दा छिटो योगदान पुर्याउने क्षेत्र उर्जा भएकाले निजी क्षेत्रको सहकार्यमा सरकारले तीव्र गतिमा विकास अगाडि बढाइरहेको स्पष्ट पारे। उनले ठूलो लगानी लाग्ने परियोजनामा सहजीकरण र वित्तीय व्यवस्थापनका लागि सरकार प्रष्ट योजनासहित अघि बढेको बताए।

उर्जा क्षेत्रको विकासमा देखिएका कानूनी जटिलता समाधान गर्दै अन्तरनिकाय समन्वय आवश्यक रहेको मन्त्री खड्काले बताए। छिमेकी मुलुकहरूसँग ऊर्जा व्यापारमार्फत फाइदा लिनुपर्ने र विद्युतको बढ्दो माग पूरा गर्न उत्पादन वृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीमा खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उर्जा सचिव तथा ग्रीड कम्पनीका अध्यक्ष सुरेश आचार्यले संस्थालाई देशको उर्जा आपूर्ति र व्यापारको सशक्त वाहकका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासमा तीनै तहका सरकारबीच समन्वय अनिवार्य रहेको बताए।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका सिइओ इन्जिनियर सागर श्रेष्ठका अनुसार कम्पनीले आगामी दशकमा प्रसारण पूर्वाधार सुदृढ बनाउँदै लैजाने योजना बनाएको छ र हाल ११ प्रसारण आयोजना विभिन्न चरणमा अगाडि बढाइरहेका छन्।