मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व नाफा कमाएको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३६२.४९ प्रतिशतले वृद्धि भएको हो।
गत आवमा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ४.६२ गुणा बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २ करोड १७ लाख रुपैयाँ मात्र थियो।
आम्दानीतर्फ हेर्दा कम्पनीको कुल आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ६६ करोड ७६ लाख रुपैयाँ थियो। कुल सकल आम्दानी पनि ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा १७ करोड ४३ लाख रुपैयाँ मात्र थियो।
आम्दानी वृद्धि र खर्च नियन्त्रण दुवैका कारण नाफामा उछाल आएको हो। गत आवमा कम्पनीको कुल खर्च १४.५५ प्रतिशतले घटेर १३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकांकका हिसाबले कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १४.३६ रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आवमा यो ३.११ रुपैयाँ मात्र थियो। प्रतिसेयर नेटवर्थ १०४.१२ रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ।