बजारमा बढेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (साउन २८) पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनका लागि निक्षेप संकलन बोलकबोल उपकरण प्रयोग गर्ने जनाएको छ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल हुने व्यवस्था मिलाइएको छ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणकमा रकम प्रस्ताव गर्न सकिने छ। आव्हान रकम वितरण गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइने र सो क्रममै २५ अर्ब रुपैयाँको लक्ष्य पूरा हुने बताइएको छ।
राष्ट्र बैंकका अनुसार संकलित रकमको सावा तथा ब्याज भदौ २२ गते भुक्तानी गरिनेछ। यसअघि पनि राष्ट्र बैंकले यो आवमा पटक–पटक ठूलो परिमाणमा निक्षेप संकलन गरिसकेको छ—साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब, साउन १४ गते २५ अर्ब, साउन १८ गते ५० अर्ब र साउन २१ गते ४० अर्ब रुपैयाँ।