नेशनल इन्स्योरेन्स ६२ करोड घाटामा, खर्च अचाक्ली बढ्यो

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार, अघिल्लो आवमा कम्पनी २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफामा रहेको थियो।

गत आवमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.४५ प्रतिशत घटेर ५६ करोड ६ लाख ६८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ६१ करोड ९१ लाख ७६ हजार रुपैयाँभन्दा कम हो। कुल आम्दानी पनि २२.७० प्रतिशत घटेर ७० करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा कुल आम्दानी ९० करोड ६८ लाख ९१ हजार रुपैयाँ थियो।

कम्पनीको कमिशन आम्दानी १० करोड ४९ लाख रुपैयाँबाट घटेर १ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ। लगानी तथा कर्जाबाट हुने आम्दानी १८ करोड २२ लाख रुपैयाँबाट घटेर १२ करोड ७५ लाख रुपैयाँमा पुगेको छ।

तर, कम्पनीको कुल खर्च एकै वर्षमा २०७.७४ प्रतिशतले बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कुल खर्च ४२ करोड ३० लाख रुपैयाँ थियो। वित्तीय विवरण अनुसार, खर्च अचाक्ली बढ्दा कम्पनी नोक्सानीमा पुगेको हो।

कम्पनीले आफ्नो चुक्ता पुँजी सार्वजनिक गरेको छैन। विशेष जगेडा कोषमा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ राखिएको छ।