वाणिज्य बैंकको नाफामा ४३ प्रतिशत उछाल, नबिल अग्रस्थानमा

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। २० वटै वाणिज्य बैंकको वित्तीय विवरण अनुसार, कुल नाफा अघिल्लो आवको तुलनामा ४३.५५ प्रतिशत बढेर ७१ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ४९ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ मात्र थियो।

प्रतिस्पर्धात्मक नाफा वृद्धिमा ४ वटा बैंकको नाफा घटेको भए पनि बाँकी सबै बैंकले सुधार गरेका छन्। नाफाका आधारमा सूचीको शीर्ष स्थान यस वर्ष पनि नबिल बैंकले सुरक्षित गरेको छ। नबिलले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत धेरै हो।

दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) पुगेको छ। अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको एनआइएमबिले ग्लोबल आइएमई बैंकलाई उछिन्दै ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ, जसको वृद्धिदर ६४.४४ प्रतिशत छ। तेस्रो स्थानमा पुगेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ, जसमा वृद्धि मात्र १.१० प्रतिशत रहेको छ।

चौंथो स्थानमा प्रभू बैंक उक्लिएको छ। बैंकको नाफा ९६५.४१ प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ पुगेको छ। छैटौं स्थानमा रहेको एभरेष्ट बैंकले पनि ३२.८१ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ, जसले खराब कर्जा नियन्त्रण र लाभांश क्षमतामा पनि मजबुत प्रदर्शन देखाएको छ।

वृद्धिदरको आधारमा कुमारी बैंक शीर्षमा रहेको छ। यसको नाफा ४५९ गुणाले बढेर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ। नेपाल बैंकको नाफा पनि १३३ गुणाले बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। चौथो उच्च वृद्धिदर माछापुच्छ्रे बैंकको हो, जसको नाफा ९२.४५ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ भएको छ।

अन्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३%, कृषि विकासको ४८.८८%, एनएमबिको ४६.२२%, लक्ष्मी सनराइजको ४०.९७%, हिमालयनको २२.१५%, प्राइमको १४.७२%, सिद्धार्थको १०.२४% र सानिमाको ७.२५% वृद्धि भएको छ।

तर, चार बैंकको नाफामा गिरावट आएको छ। एनआइसी एशिया बैंकको नाफा ८५.५२% घटेर १६ करोडमा झरेको छ। नेपाल एसबिआईको नाफा ९.८६%, स्ट्यान्डर्ड चार्टर्डको ७.५१% र सिटिजन्स बैंकको २.०८% घटेको छ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार