गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय स्तरका विकास बैंकहरूको खुद नाफा २२.०१ प्रतिशतले बढेको छ। आठ विकास बैंकले कुल ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।
नाफा रकमको आधारमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा छ। बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ३०.७० प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ थियो।
दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ। यसले १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ। नाफा वृद्धिदरका आधारमा भने गरिमा पहिलो स्थानमा छ, जसको नाफा २०१.९७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यसले ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
यो वर्ष अर्ब क्लबमा मात्र मुक्तिनाथ र गरिमा विकास बैंक देखिएका छन्। तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ, जसले ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यस बैंकको नाफा ६८ करोड ५३ लाख रुपैयाँ थियो।
चौंथो स्थानमा रहेको कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशत बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशत वृद्धि भई ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ, जबकि महालक्ष्मी विकास बैंकले ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ।
तर, लुम्बिनी विकास बैंकको नाफा भने ३०.१३ प्रतिशत घटेको छ। अघिल्लो वर्ष ५४ करोड ३६ लाख रुपैयाँ नाफा गर्ने लुम्बिनीले गत वर्ष ३७ करोड ९८ लाख रुपैयाँ मात्र कमाएको छ।