नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले गत आर्थिक वर्ष २०८१/८२ मा नाफामा उल्लेखनीय वृद्धि गरेको छ। बैंकले एकै वर्षमा ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँभन्दा ६४.४३ प्रतिशत धेरै हो।
बैंकले गत वर्ष १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १५ अर्ब ११ करोड भन्दा कम हो। तर, संचालन नाफा भने १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ, जसमा ५८.६६ प्रतिशत वृद्धि देखिन्छ।
अघिल्लो वर्ष ५ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा यो वर्ष धनात्मक बन्दै ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकले सेयरधनीलाई १.३३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ।
व्यवसायिक विस्तारमा बैंक आक्रामक देखिएको छ। निक्षेप संकलन १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १८ प्रतिशत वृद्धि भई ३ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ माथि पुगेको छ।
हाल बैंकसँग ५.८५ प्रतिशत खराब कर्जा छ, जुन अघिल्लो वर्षको ४.९१ प्रतिशत भन्दा बढी हो। बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ। चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३२ अर्ब ७४ करोड १२ लाख रुपैयाँ संचित गरिएको छ।