नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्तर्गत १८० किलोमिटर लामो उच्च भोल्टेज विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। यो सम्झौता नेपालमा सस्तो, भरपर्दो र प्रभावकारी ऊर्जा आपूर्ति सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
एमसीए–नेपाल, एन्जेलिक–स्किपर जेभी र वाइबा–सलासर जेभीबीच हस्ताक्षर भएको कार्यक्रममा एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय निर्देशक डायन फ्रान्सिस्को र एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट सहभागी थिए।
सम्झौता अनुसार रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटर भागको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ। परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर रहेको छ। यो ४०० केभी क्षमताको लाइनले नेपालमा विद्युत् व्यापार तथा क्षेत्रीय ऊर्जा सञ्जाललाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले उक्त सम्झौताले अमेरिकाको नेपालको दीर्घकालीन विकास र समृद्धिप्रति स्थायी प्रतिबद्धता देखाएको बताए। उनले नेपालमा विद्युत् पूर्वाधार मात्र नभई आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने उल्लेख गरे।
एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले प्रसारण लाइनलाई नेपालको समग्र विकासका लागि “कोसेढुङ्गा” को संज्ञा दिँदै यसले उद्योग, व्यवसाय र जनजीवनमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सक्रिय समन्वयका कारण ठेक्का सम्झौतामा सफलता मिलेको बताए।
एमसीसी नेपाल कम्प्याक्ट सम्झौताले नेपालका लागि नयाँ आर्थिक, सामाजिक र राजनीतिक अवसरको ढोका खोल्ने अपेक्षा राखिएको छ। यसले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउँदै दीर्घकालीन समृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            