चितवनमा भाटभटेनीको दोस्रो स्टोर

चितवनको रत्ननगर ३ टाँडिमा भाटभटेनीको दोश्रो स्टोर खुल्ने भएको छ । सो स्थानमा भूमिपुजन सम्पन्न भएको भाटभटेनीका संस्थापक, सञ्चालक तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिनुभयो ।

यसैबीच नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले आफ्नो सुरुवाती शाखा (मुख्यालय) पूर्वाधारमा व्यापक परिवर्तन गरेको छ ।

गुरुङले ४० वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा स्थापना गरेको भाटभटेनी सुपर मार्केटको पहिलो शाखा टंगालस्थित हालको मुख्यालयको पूर्वाधारमा व्यापक परिवर्तन गरेको हो ।

‘सन् १९८४ मा काठमाडौं टंगालस्थित भाटभटेनी मन्दिर छेउमा खोटाङका गुरुङले ३५ हजार रुपैयाँ लगानीमा १ सय २० वर्गफिट क्षेत्रफलको भाडाको कोठाबाट ‘भाटभटेनी सुपर मार्केट’ स्थापना गरेका थिए । स्थापनाको पहिलो दिन भाटभटेनीले १ हजार ३ सय ५० रुपैयाँबराबर बिक्री गरेको थियो ।

हाल भाटभटेनीका दुई दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् ।

नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ४ हजार ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसको वार्षिक आम्दानी ३२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।