वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब २ खर्ब रुपैयाँ बराबरको ब्याज आम्दानी गरेका छन्। नेपालमा संचालनमा रहेका २० वटै वाणिज्य बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्ष कुल १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको देखिन्छ।
तर, यो अघिल्लो आव (२०८०/८१) को तुलनामा भने १.०८ प्रतिशतले कमी भएको हो। अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी १ खर्ब ९२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ रहेको थियो। बैंकहरुको विवरण हेर्दा ८ वटा बैंकको आम्दानी घटेको छ भने बाँकी सबै बैंकले वृद्धि गर्न सफल भएका छन्।
सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा यसपटक पनि ग्लोबल आइएमई अग्रस्थानमा छ। बैंकले गत वर्ष १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८५ प्रतिशतले कमी हो।
तेस्रो वर्ष लगातार उच्च आम्दानी कायम राख्दै आएको नबिल बैंक दोस्रो स्थानमा छ। नबिलले गत वर्ष १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.०६ प्रतिशतले वृद्धि हो।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने कुमारी बैंकले ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ आम्दानी गर्दै ६.९५ प्रतिशत वृद्धि गरेको छ।
यसैगरी, लक्ष्मी सनराइज (११ अर्ब ३७ करोड ६३ लाख), हिमालयन बैंक (१० अर्ब ४५ करोड ६६ लाख), एनआइसी एशिया (१० अर्ब २५ करोड), नेपाल बैंक (१० अर्ब ८ करोड ७१ लाख) र राष्ट्रिय वाणिज्य बैंक (१० अर्ब ८ करोड २४ लाख) ले पनि उल्लेख्य ब्याज आम्दानी गरेका छन्।
सर्वाधिक वृद्धि गर्ने बैंक
ब्याज आम्दानी वृद्धि गर्नेमा पहिलो स्थानमा एभरेष्ट बैंक रहेको छ। बैंकले गत वर्ष ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गर्दै १९.३६ प्रतिशत वृद्धि गरेको छ। दोस्रो स्थानमा रहेको नेपाल बैंकले १६.८२ प्रतिशत वृद्धि गरेको छ।
यस्तै, माछापुच्छ्रे बैंकको आम्दानी १५.४१ प्रतिशत, प्राइम बैंकको ११.९२ प्रतिशत, सिटिजन्स बैंकको ११.२० प्रतिशत र एनएमबि बैंकको ११.१४ प्रतिशतले बढेको देखिन्छ।
आम्दानी घटाउने बैंक
त्यसैगरी, प्रभू बैंकको ब्याज आम्दानी ३९.४७ प्रतिशतले घट्दै ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक (-१२.५६%), हिमालयन बैंक (-९.९९%), लक्ष्मी सनराइज (-७.९९%), कृषि विकास बैंक (-६.९३%), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (-६.५४%), एनआइसी एशिया (-४.७४%) लगायतका बैंकको पनि खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ।