आईएमई मोटर्सको कारोबार उकालो, ९ महिनामै २ अर्ब २१ करोड

मुलुकको मोटर व्यवसाय विस्तारै गतिशील बन्दै गएको छ। पछिल्लो समय विभिन्न मोटर कम्पनीहरूले आफ्नो व्यापार आक्रामक रूपमा विस्तार गरिरहेका छन्। सोही क्रममा आईएमई मोटर्सले पनि कारोबारमा उल्लेख्य वृद्धि गरेको छ।

कम्पनीले सन् २०२५ को नौ महिनामै २ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। गत वर्ष (२०२४) सोही अवधिमा कम्पनीको कारोबार २ अर्ब ३४ करोड ७० लाख रुपैयाँ थियो। यस वर्ष कम्पनीको कुल व्यापार ३ अर्ब नाघ्ने अनुमान गरिएको छ।

उद्योगी चन्द्रप्रसाद ढकालको नेतृत्वमा रहेको आईएमई मोटर्सले सन् २०२३ मा १ अर्ब ७५ करोड १० लाख, सन् २०२२ मा ३ अर्ब १४ करोड, सन् २०२१ मा २ अर्ब ३७ करोड १० लाख र सन् २०२० मा १ अर्ब ८३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। पछिल्ला वर्षहरूमा केही उतारचढाव देखिए पनि अहिले व्यापार पुनः गतिशील बनेको देखिन्छ।

हाल अशोक लेल्यान्ड ब्रान्डका बस तथा इन्टरमेडियट कमर्सियल सवारीसाधनको उच्च मागले कम्पनीको कारोबारमा उल्लेख्य योगदान पुर्याएको छ।

नाफा र वित्तीय अवस्था सुधार

सन् २०२५ को ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा १०.८ प्रतिशत पुगेको छ, जुन अशोक लेल्यान्डको आधिकारिक बिक्री सुरू गरेयताकै उच्च हो।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको कुल ऋण सञ्चालन नाफाको ८.३ गुणा पुगेको छ, जसअनुसार कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ कर्जा लिएको अनुमान गरिएको छ।

कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। जसमध्ये २ अर्ब १२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १२ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ।

इक्राका अनुसार आईएमई मोटर्सले कर्जा क्षमताको १४४ प्रतिशत कर्जा लिएको छ, जुन अघिल्लो वर्षको १९३ प्रतिशत भन्दा कम हो। यस्तै, चालु पुँजी कर्जा कुल व्यापारको ७७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १५५ प्रतिशत थियो। यसले कम्पनीको तरलता व्यवस्थापनमा सुधार भएको संकेत दिन्छ।

उधारो कारोबारको औसत अवधि पनि घट्दै गएको छ। अघिल्लो वर्ष ३६५ दिनसम्म उधारो अवधि कायम रहँदा यो वर्ष त्यो घटेर २२९ दिनमा झरेको छ।

इक्राको प्रतिवेदनअनुसार सन् २०२४ र २०२५ मा कम्पनीको वित्तीय अवस्था क्रमशः सुधार हुँदै गएकाले कर्जा र तरलता सम्बन्धी दबाब न्यूनीकरण भएको देखिन्छ।

पृष्ठभूमि

आईएमई ग्रुपको यो कम्पनीले आफ्नो यात्रा सन् २०१० मा एलटी इन्टरप्राइजेजको रूपमा सुरू गरेको थियो। सन् २०१५ देखि हिन्दुजा ग्रुपको अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बनेको कम्पनीले सन् २०१७ मा ‘आईएमई मोटर्स’ नाम अपनाएको हो।

हाल कम्पनीले अशोक लेल्यान्डका सम्पूर्ण कमर्सियल सवारीसाधन, बस, लाइट कमर्सियल भेइकल, इन्टरमेडियट कमर्सियल भेइकल, मिडियम कमर्सियल भेइकल, ट्रक र टिपर आदिको बिक्री वितरण गर्दै आएको छ।