चीनका विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणलाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ कभर गरेका छन्। भ्रमणका क्रममा वाङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेका थिए। सीमा विवाददेखि लिएर ग्लोबल साउथसम्मका विषयमा छलफल भए पनि दुवै देशले सार्वजनिक गरेका बयानमा फरक–फरक धारणा प्रकट भएका छन्।
सीमा र सहयोगमा छलफल
चीनको विदेश मन्त्रालयका अनुसार, भ्रमणमा दुवै पक्षले विभिन्न मुद्दामा संवाद पुनः सुरु गर्ने, सहयोगलाई गहिरो बनाउने, एकपक्षीय दबाबको नीतिको विरोध गर्ने र सीमा क्षेत्रमा शान्ति–स्थिरता कायम राख्ने सहमति गरेका छन्। ग्लोबल टाइम्सले यो सहमति ग्लोबल साउथका लागि लाभदायक हुने टिप्पणी गरेको छ।
भारत र चीनका फरक बयान
चिनियाँ पक्षका अनुसार भारतले ताइवानलाई चीनको हिस्सा मान्ने अडान स्पष्ट पारेको बताइएको छ। तर भारतको विदेश मन्त्रालयले भने आफ्नो अडानमा परिवर्तन नभएको स्पष्ट गर्दै आर्थिक, प्राविधिक र सांस्कृतिक सम्बन्ध ताइवानसँग यथावत रहने जनाएको छ।
त्यस्तै, भारतीय पक्षले तिब्बतमा यारलुङ त्साङपो नदी (ब्रह्मपुत्र) मा चीनले बनाउन लागेको बाँधबारे गम्भीर चिन्ता प्रकट गरेको भए पनि चिनियाँ विज्ञप्तिमा यसको कुनै उल्लेख गरिएको छैन।
आतङ्कवादबारे विवादास्पद मौनता
भारतले जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमण र त्यसपछिको ‘अपरेशन सिन्दूर’बारे चीनसँग वार्तामा जोड दिएको जनाएको छ। तर चिनियाँ रिडआउटमा प्रधानमन्त्री मोदी र जयशंकरसँगको भेटमा आतङ्कवादबारे कुनै उल्लेख थिएन।
अमेरिकी ट्यारिफ र रणनीतिक स्वायत्तता
चिनियाँ मिडियाले वाङको भ्रमणलाई भारतको रणनीतिक स्वायत्ततासँग जोडेको छ। अमेरिकी ट्यारिफका कारण भारतले आफ्नो निर्यात रणनीति पुनःसमायोजन गर्नुपर्ने दबाब बढेको र यसै सन्दर्भमा चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको टिप्पणी गरिएको छ। चीन डेलीले वाङको भ्रमणलाई प्रधानमन्त्री मोदीको तियानजिन एससीओ शिखर सम्मेलनको तयारीको रूपमा व्याख्या गरेको छ।
विश्लेषकहरूको दृष्टि
फुदान विश्वविद्यालयका लिन मिनवाङले भारतले चीनसँग सम्बन्ध सुधार गरेर अमेरिकासँग मोलमोलाइ गर्ने शक्ति बढाउन चाहिरहेको विश्लेषण गरेका छन्। तर उनले चीनले आफ्नो राष्ट्रिय हितका सवालमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            