नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षामा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।
लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम लागु भएको जानकारी गराएको हो ।
आइक्यान अध्यक्ष प्रविणकुमार झाका अनुसार सीए शिक्षामा युवापुस्ताको बढ्दो आकर्षण ध्यानमा राख्दै नयाँ पाठ्यक्रम बनाइएको छ ।
अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरिएको र यसले नेपालमा पढेका सीएले संसारको जुनसुकै देश पुगेर समेत सहजै काम गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।
संस्थाका अनुसार इन्स्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इङल्यान्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा पाठ्यक्रम परिमार्जन गरिएको हो । यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु हुने भएको छ ।
नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको छ ।
नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको छ ।
यसपटक लेखा क्षेत्रका महत्त्वपूर्ण पक्ष संहिता, दिगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायत विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको संस्थाले उल्लेख गरेको छ ।