झापा इनर्जीको आईपीओ भदौ २० देखि सर्वसाधारणका लागि खुला

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्री गर्न लागेको हो।

यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

दोस्रो चरणमा भने सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबर हुने जनाएको छ।

निवेशकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ भदौ २४ गतेसम्म छिटोमा बन्द हुनेछ भने मागअनुसार ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ।