नागढुङ्गा सुरुङ : अबको यात्रा विद्युतीय टोल प्रणालीसहित

सडक विभागले निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमा पुगेको जनाएको छ । विभागका अनुसार आयोजनाको भौतिक प्रगति हालसम्म ९४.५ प्रतिशत पुगेको छ र सम्पूर्ण काम असोज महिनाभित्र सम्पन्न गरी निकट भविष्यमै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

सुरुङमार्ग सञ्चालनपछि सवारीसाधनहरूबाट उपभोग दस्तुर संकलन गरिनेछ । यसै क्रममा सरकारले गत साउन २६ गते मन्त्रिपरिषद् बैठकमार्फत दस्तुर स्वीकृत गरिसकेको छ । दस्तुर संकलनका लागि आरएफआइडी (RFID) आधारित विद्युतीय टोल प्रणाली जडान भइरहेको विभागले जनाएको छ । यो प्रणालीमा सवारीसाधनको अगाडिको सिसामा टाँसिने बैंक खातासँग आबद्ध ट्यागमार्फत सोझै भुक्तानी गर्न सकिनेछ ।

सुरुङमार्गको निरन्तर (२४/७) सञ्चालन, मर्मत, आपतकालीन अवस्थामा उद्दार, आगलागी नियन्त्रण, पावर सप्लाई, भेन्टिलेशन, इन्टर्नल कम्युनिकेशन, रिमोट मोनिटरिङ, आकस्मिक सेवा तथा फायर–फाइटिङ जस्ता प्रविधियुक्त प्रणाली व्यवस्थापनका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक हुने भएकाले विभागले विशेषज्ञ सेवा प्रदायकमार्फत यो जिम्मेवारी दिने तयारी गरेको छ ।

यसका लागि आवश्यक स्पेसिफिकेशन तथा म्यानुअल जापानी परामर्शदाताबाट तयार भइसकेको छ र विभागीय प्रमुखले स्वीकृति दिएका छन् । त्यस्तै, सेवा प्रदायक खरिदका लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको र अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएको विभागले जनाएको छ ।

हाल नमूना बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलमा रहेको छ भने लागत अनुमान तयार गर्ने कार्य पनि भइरहेको छ । सम्पूर्ण तयारी समयमा नै पूरा गरी सुरुङमार्गलाई निकट भविष्यमै सर्वसाधारणको लागि खुला गरिने विभागको दाबी छ ।