नेपालको पूँजी बजारप्रति लगानीकर्ताको आत्मविश्वास तीव्र गतिमा बढ्दै गएको देखिन्छ । यसको प्रमाण सेयर धितो कर्जा (मार्जिन लोन) मा देखिएको उल्लेख्य वृद्धिले दिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१/८२ सालको तथ्याङ्कअनुसार एकै आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले डेढ खर्बभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
गत वर्ष साउनदेखि असार मसान्तसम्म कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ मार्जिन लोन प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६.१७ प्रतिशत बढी हो । अघिल्लो वर्ष यो रकम ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँमा सीमित थियो ।
ठूला लगानीकर्ताको सक्रियता
विशेषगरी १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा अत्यधिक बढेको देखिन्छ । गत वर्ष मात्रै यो सीमा ७६.८७ प्रतिशतले बढेर ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै शीर्षकमा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ मात्र प्रवाह भएको थियो । त्यस्तै, ५० लाखदेखि १ करोडसम्मको सीमा २८.९८ प्रतिशतले बढेर १६ अर्ब २ करोड ९७ लाख पुगेको छ । यस्तै, २५–५० लाखको कर्जा २१.७९ प्रतिशत र २५ लाखसम्मको कर्जा ११.८४ प्रतिशतले बढेको छ ।
वाणिज्य बैंकको दबदबा
गत वर्ष वाणिज्य बैंकहरूले मात्रै १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ मार्जिन लोन प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ६०.०६ प्रतिशत वृद्धि हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ मात्र प्रवाह गरेका थिए ।
कुन बैंकले कति कर्जा दियो ?
-
नबिल बैंक : सबैभन्दा धेरै १६ अर्ब ७६ करोड ३२ लाख (४६.६९% वृद्धि)
-
ग्लोबल आइएमई बैंक : १२ अर्ब ३० करोड ९३ लाख (६३.७४% वृद्धि)
-
कुमारी बैंक : १० अर्ब ४३ करोड ३२ लाख (१३८.४०% वृद्धि)
-
सिद्धार्थ बैंक : ९ अर्ब २८ करोड ७ लाख
-
प्राइम बैंक : ८ अर्ब २८ करोड १५ लाख
-
लक्ष्मी सनराइज बैंक : ८ अर्ब २५ करोड ४५ लाख
-
नेपाल बैंक : ७ अर्ब ८६ करोड
-
सिटिजन्स बैंक : ७ अर्ब २ करोड
-
राष्ट्रिय वाणिज्य बैंक : ६ अर्ब १५ करोड
-
प्रभू बैंक : ५ अर्ब ३४ करोड ४६ लाख
यस्तै, कृषि विकास बैंकले ४ अर्ब ६५ करोड, एभरेष्टले ३ अर्ब ४४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ३६ करोड, सानिमाले ३ अर्ब ३१ करोड, हिमालयनले २ अर्ब ७१ करोड, माछापुच्छ्रेले २ अर्ब ५३ करोड, एनएमबिले २ अर्ब ३९ करोड, एनआइसी एशियाले २ अर्ब ५ करोड मात्र प्रवाह गरेका छन् । नेपाल एसबिआईले भने ६१ करोड रुपैयाँ मात्रै प्रवाह गरेको छ ।
लचिलो नीति र बजारको विश्वास
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जा सम्बन्धी लचिलो नीति अपनाएकोले यो क्षेत्रमा वृद्धि भएको विश्लेषण गरिएको छ । यसले पूँजी बजारमा ठूला लगानीकर्ताको पुनः सक्रियता बढाएको देखिएको छ ।