पूर्व राष्ट्रपति विद्या वीरगञ्ज 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान वीरगञ्ज जाँदै हुनुहुन्छ । उहाँ वीरगञ्जमा आयोजित एक सामाजिक कार्यक्रममा प्रमुख अतिथिका लागि बिहान १० बजे पुग्ने कार्यक्रम छ । वीरगञ्जमा महिला उद्यमी सम्मान कार्यक्रम राखिएको छ ।

त्यसअघि काठमाडौंबाट सिमरा पुगेपछि एमाले नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत र सम्मान गर्ने कार्यक्रम राखिएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले सामाजिक सञ्जालबाट बिहान पौने ९ बजे भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा उपस्थित हुन सो क्षेत्रका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

पौडेलले नेकपा एमालेले ‘गणतन्त्रको गौरव’ का रूपमा सम्मानित गरेको आदरणीय व्यक्तित्व सम्माननीय पूर्व राष्ट्रपतिलाई बारामा स्वागत तथा सम्मान गर्नु सबैको कर्तव्य हो भन्नुभएको छ ।

यता एमाले पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीले दोस्रो विधान महाधिवेशनका प्रतिनिधि तथा आयोजकहरुलाई भदौ २० र २१ गते ललितपुरको गोदावरीस्थित सनराईज हलमा उपस्थित हुन सूचित गर्नुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिहान चीन भ्रमण जानुभएको छ । उहाँ बुधबार स्वदेश फर्केपछि शुक्रबार विधान महाधिवेशन हुँदैछ । यसअघि हिजोलाई राखिएको केन्द्रीय कमिटीको बैठक गतसाता नै अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।