पछिल्ला दिनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीप्रति सर्वोच्च अदालतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वोच्चले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर आइरहेको विषयहरुप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
प्रधानन्यायाधीश तथा सम्बन्धित न्यायाधीशहरूले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको अवस्थामा सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पाँचबुँदे निर्णय गर्दै घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित ढंगले संविधान र कानूनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेको छ ।
सर्वोच्चले संविधान र कानूनको सर्वोच्चताप्रतिको आफ्नो आस्था र प्रतिबद्धता दोहोर्याउँदै त्यसमा आफूहरू अडिग रहेको स्पष्ट पारेको छ ।
त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा कानूनबमोजिम हुने छानबिन र अनुसन्धानमा आफूहरूले कानूनले तोकेको जवाफदेही निर्वाह गर्ने र पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
न्यायपालिका जनताको आस्था र विश्वासमा टिकेको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आमजनता र सेवाग्राहीमा भ्रम सिर्जना नहुने विषयमा संवेदनशील हुन सर्वोच्चले आग्रह गरेको छ ।
