बैंकका कर्मचारीको तलबमा ठूलो फड्को, केहीमा कटौती

नेपालका अधिकांश बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधा वृद्धि गरेका छन्। गत वर्ष पाँच बैंक बाहेक सबै बैंकहरुले तलब बढाएका हुन्। अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुले औसत २१ प्रतिशतसम्म तलब वृद्धि गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरुले कर्मचारी तलब सुविधामा ५७ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ खर्च गरेका थिए। तर, गत वर्ष आइपुग्दा यो खर्च बढेर ६० अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ।

तलब बढाउन सबैभन्दा अगाडि हिमालयन बैंक रहेको छ। बैंकले एक वर्षमै २१.१४ प्रतिशतले तलब बढाएर खर्च २ अर्ब ८१ करोड ३८ लाख रुपैयाँबाट ३ अर्ब ४० करोड ८७ लाख रुपैयाँ पुर्‍याएको छ।

तेस्रो र दोस्रो स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंक रहेका छन्। प्राइमले १३.०९ प्रतिशतले तलब बढाएर खर्च १ अर्ब ४८ करोड ६६ लाख रुपैयाँबाट १ अर्ब ६८ करोड १२ लाख रुपैयाँ पुर्‍याएको छ। माछापुच्छ्रेको तलब खर्च १३.७७ प्रतिशत बढेर १ अर्ब ९० करोड रुपैयाँबाट २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, एनएमबि बैंकले १२.४८ प्रतिशतले तलब बढाएको छ। अघिल्लो वर्ष २ अर्ब २७ करोड रुपैयाँ खर्च गर्ने बैंकले गत वर्ष २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ।

अन्य वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले १०.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.०५ प्रतिशत, कृषि विकास बैंकले ८.४१ प्रतिशत, सिद्धार्थ बैंकले ८.३० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ७.४३ प्रतिशतले तलब बढाएका छन्। यी बैंकहरुको तलब खर्च क्रमशः ३ अर्ब ७० करोड, ४ अर्ब १२ करोड, ३ अर्ब ९४ करोड, २ अर्ब ४८ करोड र ४ अर्ब ४७ करोड पुगेको छ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.३५ प्रतिशत, नेपाल बैंकले ४.४५ प्रतिशत, सानिमा बैंकले ४.४३ प्रतिशत, ग्लोबल आइएमईले २.३६ प्रतिशत, नेपाल एसबिआईले १.६४ प्रतिशत र सिटिजन्स बैंकले ०.६८ प्रतिशत मात्र तलब बढाएका छन्।

तर, सबै बैंकमा वृद्धि भएको छैन। एनआइसी एशिया बैंकले कर्मचारी तलब खर्च १५.९१ प्रतिशतले घटाएर ४ अर्ब ३६ करोडबाट ३ अर्ब ६६ करोडमा झारेको छ। यस्तै, प्रभू बैंकले ४.०३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले २.५९ प्रतिशत, कुमारी बैंकले ०.७९ प्रतिशत र एभरेष्ट बैंकले ०.०६ प्रतिशत तलब खर्च घटाएका छन्।