नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको छ । एनटीसी र वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार अदालतको आदेश र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।
सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायत प्लेटफर्म भने निरन्तर सञ्चालन हुने छन् ।
यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई सञ्चालन हुन दिइने भएको हो ।
बन्द हुने सामाजिक सञ्जाल पनि दर्ता हुन आएकै दिन सुचारु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।