सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि दबाबमा परेको लोकप्रिय एप ‘हाम्रो पात्रो’ ले अन्ततः दर्ता प्रक्रिया पूरा गरेको छ। शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एपको औपचारिक सूचीकरण सम्पन्न भएपछि यो एप बन्द हुने सूचीबाट हटेको हो।
सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स (Twitter) लगायत सूचीकृत नभएका एपहरू बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार इन्टरनेट सेवा प्रदायकहरूले केही एपहरूमा पहुँच अवरुद्ध गरिसकेका थिए। तर ‘हाम्रो पात्रो’ सूचीकरणपछि प्रयोगकर्ताले अब अवरोधबिनै सेवा लिन सक्ने भएका छन्।
मन्त्रालय स्रोतका अनुसार अन्य केही एपहरू पनि दर्ता प्रक्रियामा आउने संकेत देखिएको छ। एक्सले दर्ताका लागि आवश्यक विवरण मागिसकेको छ भने अन्य एपहरू भने अझै सरकारले सम्पर्क नगरेको जनाइएको छ।
यससँगै सरकारले तोकेको सूचीकरण प्रक्रिया पूरा नगरेसम्म नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने प्रष्ट भएको छ।