नेकपा एमालेका सचिव योगेश भट्टराईले भएका कमजोरीको समीक्षा गर्न आह्वान गरेका छन् । मुलुक इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताउँदै उनले ‘जनतामा जाऔँ, जनतालाई सुनौँ र निर्णय गरौँ’ भनेका छन् ।
सामाजिक सञ्जालमा आज बुधबार लेख्दै भट्टराईले देश र समाज भयानक अस्थिरतामा रहेको र सबै तनावमा भएको बताएका छन् । ‘यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन’ भन्दै उनले गर्नुपर्ने कामका बारेमा १० सुझाव दिएका छन् ।
‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ,’ भट्टराईले भनेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’
साथै, उनले पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गर्दै पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाउन आह्वान गरेका छन् ।
उनले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन जबजको आत्मा भएकाले यसबाट दायाँ-बाँया नजान पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुपर्ने भएकाले नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गर्नुपर्ने भट्टराईले बताएका छन् ।