जेनजी आन्दोलनले बीमा दाबी ५० अर्ब नाघ्ने संभावना

मंगलबार जेनजी आन्दोलनका क्रममा भएको अतिक्रमण र आगजनीका कारण नेपालका निर्जीवन बीमा कम्पनीमा ठूलो क्षतिको दाबी आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

हालसम्म देखिएका क्षतिको आधारमा हिल्टन होटेल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल बिजनेश पार्क लगायतका कर्पोरेट भवनमा क्षति पुगेको छ। निजी घर, सवारी साधन र व्यवसायिक संरचनामा समेत ठूलो क्षति भएको छ।

विनोद चौधरीको रविभवनस्थित घरमा आगजनी र लुटपाट भएको छ भने सीजी मोटर्सको थापाथली शोरुममा आंशिक क्षति पुगेको छ। भाटभटेनी सुपरस्टोरको नक्शाल स्टोर, महाराजगञ्ज र चितवनलगायतका स्टोरमा पनि लुटपाट भएको जानकारी आएको छ। चन्द्रागिरि र मौलाकालिकाको केबलकारमा थोरै क्षति पुगेको छ भने पूर्वी शहर इटहरीमा पनि ठूलो भौतिक क्षति भएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवारले अर्थपथसँगको अन्तर्वार्तामा अहिलेसम्म देखिएको क्षतिको सामान्य अनुमान गर्दा ५० अर्बभन्दा बढीको बीमा दाबी आउन सक्ने बताए।

हाल बीमा कम्पनीहरूको दाबी सम्हाल्ने क्षमता पुनर्बीमामा आधारित छ। तर ‘हुलदंगा आतंकवाद’ शीर्षक अन्तर्गत प्रिमियम अत्यन्त कम रहेको र पुनर्बीमा अधिकार सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीसँग सीमित भएकोले ठूलो दाबी आएमा बीमा बजारमा दबाब पर्न सक्ने देखिएको छ।

विशेषज्ञका अनुसार हिल्टन होटेल, भाटभटेनी, एनसेल, सीजी मोटर्स र अन्य संरचनाबाट मात्रै करिब ५० अर्बभन्दा बढीको दाबी आउन सक्ने सम्भावना छ। तर वास्तविक दाबी रकम र क्षतिको मूल्यांकन अझै बाँकी छ।