बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से क्षेत्रमा पहिरो जानासाथ पूर्णरूपमा अवरुद्ध बनेको छ।
प्रहरीका अनुसार, सडक अवरुद्ध भएको जानकारी पाएपछि बिहानै प्रहरीचौकी पुर्तीघाटबाट टोली खटाएर पहिरो पन्छाउने प्रयास सुरु गरिएको थियो। तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन्।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ र रिडी हुँदै पाल्पा तथा बुटवलसम्मको आवतजावत प्रभावित भएको छ। वर्षा रोकिनासाथ स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको छ।
सूचना अधिकारी सारुले भनेका छन्, “उक्त सडक पहिरोका कारण पटक-पटक अवरुद्ध हुने गर्दछ, यात्रुहरू सावधान रहनुहोस्।”