नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ’जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् ।
यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन् । विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन् ।
उनले एकपटक पुनः लोकतान्त्रिक इतिहासका योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्ने बताएका हुनु ।
विज्ञप्तिमार्फत उनले भने, ‘हामी चुक्यौं, हामीले समयको पदचाप बुझ्न सकेनौं । त्यसकै परिणाम दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए । अब हामी युवाको चाहना र समाजको भावनालाई आत्मसात गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौं ।’
नेताले नेपाली कांग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्ष र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउने प्रण पनि गरे ।
विशेषगरी भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे उनले भावुक हुँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विपी विचार जलाउन सकिँदैन । कोइराला निवासको खरानीबीचबाट कांग्रेसको नवनिर्माणमा जुट्नेछौं ।’
यस्तो छ काठमाडौंको संरचना हेर्नुस – फोटो फिचर
उनले दशैंपछि देशव्यापी बहस, छलफल र संगठनात्मक नविकरणको अभियान लिएर पार्टीभित्र नयाँ विचार, नेतृत्व र संगठन निर्माणमा लाग्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने कांग्रेस’ बनाउने संकल्प व्यक्त गरेका छन् ।