विध्वंसपछि पुनर्निर्माणले अर्थतन्त्रलाई नयाँ गति दिने संकेत

जेनजी आन्दोलनका क्रममा गत मंगलबार भएको व्यापक तोडफोडले देशभर खर्बौँ मूल्य बराबरका सार्वजनिक र निजी संरचनामा क्षति पु‍र्‍याएको अनुमान गरिएको छ। यद्यपि वास्तविक क्षति र यसको मूल्यांकनबारे हालसम्म कुनै आधिकारिक तथ्य सार्वजनिक भएको छैन। आगामी अन्तरिम सरकारले मात्रै यथार्थ मूल्याङ्कन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

विशाल विध्वंस पछिको अवस्थालाई धेरैले दुःखद् माने पनि अब पुनर्निर्माणलाई अवसरका रूपमा लिनुपर्ने आवाज उठ्न थालेको छ। आर्थिक विश्लेषकका अनुसार नवनिर्माणले सुस्त अर्थतन्त्रलाई गति दिने सम्भावना छ। लामो समयदेखि सुस्त निर्माण क्षेत्रलाई पुनर्जीवित गर्ने यो अवसरले निर्माण सामग्रीको मागदेखि रोजगारीसम्म सकारात्मक प्रभाव पार्न सक्छ।

सार्वजनिक भवनहरू पुनःनिर्माण र मर्मतका लागि ठूलो बजेट आवश्यक पर्ने देखिन्छ। सरकारले पूरक बजेट ल्याएर विकास खर्चको केही अंश पुनर्निर्माणमा खर्च गर्न सक्ने अनुमान छ। यस्तो खर्चले अर्थतन्त्रमा चलायमानता ल्याउने अपेक्षा गरिएको छ।

पुनःनिर्माणको क्रमसँगै सिमेन्ट, फलाम, पेन्ट, टायल, फर्निचर, इलेक्ट्रोनिक्स, पर्दा, कार्पेट, कपडा, सवारीसाधनलगायत निर्माण तथा उपभोग्य सामग्रीको बिक्री उल्लेख्य रूपमा बढ्ने देखिएको छ। निकट दशैं पर्वका कारण निजी घरधनी र व्यवसायीहरूले तत्काल मर्मत–सुधार सुरु गर्ने सम्भावना छ।

यसका लागि शान्ति–सुरक्षाको प्रत्याभूति र सकारात्मक वातावरण कायम गर्नु सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव आएको छ। आन्दोलनबाट सम्पत्ति गुमाएका धेरै व्यवसायीले निराश नभई अझ दह्रो भएर उभिने प्रतिवद्धता जनाएका छन्, जसले नेपाली अर्थतन्त्रलाई निकट भविष्यमा पुनः सही दिशातर्फ उन्मुख गराउने आशा देखाएको छ।