निकटिँदो दशैंलाई ध्यानमा राख्दै यातायात सेवा सहज र सुरक्षित बनाउन सरकारले अग्रिम टिकट बुकिङको तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायी, ट्राफिक प्रहरी प्रतिनिधि लगायत सरोकारवालासँग बैठक बोलाएर बुकिङ खुलाउने विषयमा छलफल गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरुलाई सहजता दिलाउन अनलाइन टिकट बुकिङसहित उपत्यकाका विभिन्न स्थानमा टिकट बिक्रीका लागि बुथ निर्माण गर्ने निर्णय भएको छ।
दशैंमा घर फर्किने यात्रुको भीडलाई व्यवस्थित गर्न अग्रिम टिकट प्रणाली अत्यन्त महत्वपूर्ण हुने सरोकारवालाको धारणा छ। कार्यान्वयनका क्रममा सबै प्रकारका सुरक्षा उपाय सुनिश्चित गर्न यातायात व्यवसायीहरूले जोड दिएका छन्।
ट्राफिक प्रहरीका अनुसार यस्तो व्यवस्था लागू भएपछि भीडभाडका कारण हुने सडक दुर्घटना र ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ। सरकार र निजी क्षेत्रको सहकार्यमा छिट्टै अग्रिम टिकट बुकिङ खुल्ने तयारी भएको जनाएको छ।