प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा आइतबार सिंहदरबार पुगेकी सुशीला कार्कीले पछिल्लो समय देशभर भएका आन्दोलन र त्यससँग जोडिएका घटनालाई लिएर गम्भीर आशंका व्यक्त गरेकी छन्। उनले देशका महत्वपूर्ण संस्थामाथि ‘छानि–छानी प्रहार’ गरिएको आरोप लगाउँदै यो नियोजित षडयन्त्र हुन सक्ने संकेत गरेकी हुन्।
भदौ २३ र २४ गतेका दिन भएको २७ घण्टे आन्दोलनको सन्दर्भ उल्लेख गर्दै कार्कीले आन्दोलनका नाममा नेपालका अत्यन्तै संवेदनशील र अपरिहार्य कागजातहरु जलाइएकोप्रति चिन्ता व्यक्त गरिन्।
“मुलुकको अत्यन्त आवश्यक संस्थाहरुमा छानि–छानी प्रहार भएको देख्दा लाज लागेको छ। नेपाली नै भएर यस्तो काम गर्ने हो भने उनीहरुलाई नेपाली कसरी भन्ने?” प्रधानमन्त्री कार्कीको गम्भीर प्रश्न थियो।
उनका अनुसार भौतिक संरचना जलेपनि पुनर्निर्माण गर्न सकिन्छ, तर महत्वपूर्ण दस्तावेजहरु जलेपछि त्यसको पुनःप्राप्ति असम्भवजस्तै हुन्छ। यसै क्रममा देशभरका थुप्रै अदालतहरु र सरकारी कार्यालयहरुमा भएको आगजनी र तोडफोडप्रति शंका जनाउँदै उनले भनिन्, “हाम्रा संस्थाहरु अनुहार देखाउन नसक्ने अवस्थामा पुगेका छन्। मलाई लाग्छ, यो नियोजित षडयन्त्र हो। यसको अनुसन्धान हुनै पर्छ।”
यता, चैत १५ को आन्दोलनमा जनकमाण्डरको भूमिकामा रहेका दुर्गा प्रसाईले सामाजिक सञ्जालमा पोस्ट गर्दै विदेशी पैसा र निर्देशनमा चलेकै आन्दोलनबाट नेपालमा स्थायी परिवर्तन सम्भव नहुने बताएका छन्। उनले नेपाली सेनाका प्रधान सेनापतिलाई सम्बोधन गर्दै आन्दोलनमा विदेशी हस्तक्षेपको आशंकासमेत व्यक्त गरेका छन्।
यता, ‘हामी नेपाली’ नामक संस्थाका प्रतिनिधि सुधन गुरुङ आन्दोलनको पहिलो दिन सञ्चार माध्यममा बोल्दै आयोजक नभई स्वयंसेवक भएको दाबी गरेका थिए। तर, आन्दोलनको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्न गएका दुई युवाहरु अझै सम्पर्कविहीन छन्। यिनै पृष्ठभूमिमा सुधन गुरुङले नेपाली सेनाका एक रथीलाई फोन गरी प्रधानमन्त्रीमा कार्कीको घोषणा नभए शितल निवास घेराउ र राष्ट्रपतिको प्रत्यक्ष सुरक्षा संकटको धम्की दिएको भिडियो पनि बाहिरिएको छ।
यी सबै घटनाक्रमसँगै प्रधानमन्त्री कार्कीको नियुक्तिमा देशी-विदेशी प्रतिक्रिया पनि चासोको विषय बनेको छ। ब्रिटेनले कार्कीको स्वागत गर्ने पहिलो राष्ट्र बनेको छ भने निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले पनि समर्थन जनाएका छन्।
यी घटनासँगै देशमा भइरहेको परिवर्तन साँच्चिकै युवाहरुको चाहना थियो वा उनीहरुलाई कसैले प्रयोग गरिरहेको छ भन्ने गम्भीर प्रश्नहरु सार्वजनिक बहसको केन्द्रमा आउन थालेका छन्।
यसैबीच कार्कीले आन्दोलन र पछिल्लो घटनाक्रमको पूर्ण छानबिन गर्ने संकेत दिएकी छिन्, जसले यो प्रकरण अझै गहिरो मोडमा जाने संकेत गरेको छ।