असोज महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ताजा विवरणअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा असोजमा ०.११ प्रतिशतविन्दुले घटेको छ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार भदौमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ५.५७७ प्रतिशतविन्दु थियो, जुन असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ। संस्थागत मुद्दति निक्षेपमा पनि औसत अधिकतम ब्याजदर ३.९६३ प्रतिशतविन्दुबाट झरेर ३.८७४५ प्रतिशतविन्दुमा सीमित भएको छ।
२० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले भदौकै दर कायम राखेका छन्। बाँकी २ बैंकले असोजमा दर बढाएका छन्।
सबैभन्दा ठूलो कटौती प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले गर्दै व्यक्तिगत मुद्दति निक्षेपमा ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दुले, कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले दर घटाएका छन्।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतविन्दु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्।
भदौकै ब्याजदर निरन्तरता दिने बैंकहरूमा प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंक पर्छन्।
