नेप्सेमा दोस्रो नकरात्मक सर्किट, कारोबार ४० मिनेट रोकिने

जेनजी आन्दोलनपछि पुनः खुला भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज लगातार दोस्रो पटक नकरात्मक सर्किट ब्रेक लागेको छ। बजार खुल्नेबित्तिकै तीव्र गिरावट आएपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको हो।

बिहीबार बिहान बजार खुला भएको २ मिनेटमै ४ प्रतिशत गिरावट दर्ता भएपछि पहिलो नकरात्मक सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। तर, पुनः कारोबार सुरु हुनासाथ सूचकाङ्क झन् तल झर्दै ५ प्रतिशत गिराएपछि दोस्रो नकरात्मक सर्किट लाग्यो। यससँगै नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरेको हो।

नेप्से नियमअनुसार,

  • कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४% भन्दा बढी गिरावट वा वृद्धि भएमा २० मिनेटका लागि कारोबार रोक्ने प्रावधान छ।

  • दोस्रो घण्टाभित्र ५% भन्दा बढी गिरावट वा वृद्धि भएमा ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ।

  • सोही अवधिमा ६% भन्दा बढीको उतार–चढाव भएमा भने सो दिनको लागि सारा बजार बन्द गरिन्छ।

आजको दोस्रो सर्किट पनि यही नियमअनुसार लागू गरिएको हो। जेनजी आन्दोलनपश्चातको अनिश्चितता र लगानीकर्ताको बेचबिखनको दबाबका कारण बजारमा तीव्र गिरावट आएको विश्लेषकहरू बताउँछन्।

दुई चरणको रोकसँगै लगानीकर्ताहरू थप त्रासमा परेका छन्। बजार पुनः सुरु भएपछि सूचक स्थिर हुने वा थप गिरावट हुने भन्नेमा सबैको नजर नेप्सेमा केन्द्रित छ।