जेनजी आन्दोलनका कारण निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको दावी दर्ता भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र सम्पत्ति नोक्सानीका कारण यो ठूलो बीमा दाबी दर्ता भएको हो।
प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९८४ वटा दावी पेश भएका छन्। सबैभन्दा ठूलो दावी ओरियण्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँको छ। कम्पनीमा ४० वटा बीमालेखका दावी दर्ता भएका छन्, जसमा हिल्टन होटलमा भएको आगजनी र तोडफोड प्रमुख कारण बनेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० रुपैयाँका २५८ वटा दावी दर्ता भएका छन्। यस्तै शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड ६ लाख ८० हजार, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ७५ लाख ३१ हजार, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड ६२ लाख ८२ हजार र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख ६५ हजार बराबरको दावी दर्ता भएको छ।
सानिमा जिआइसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोडमा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजीमा ३८ करोड ५८ लाख, प्रभूमा १९ करोड १८ लाख र नेशनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको दावी परेको छ।
साना बीमा कम्पनीहरूमा पनि क्षतिको दावी दर्ता भएको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख, नेपाल माइक्रोमा ५६ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बराबरको दावी आएको प्राधिकरणले जनाएको छ।

