दशैं नजिकिँदा राजधानीबाट यात्रुको ठूलो पलायन

दशैंको जमरा राख्ने तयारी सुरु भएसँगै राजधानी काठमाडौं उपत्यकाबाट मानिसहरू लस्करै गाउँ फर्किन थालेका छन्। वर्ष दिनपछि घर फर्कने यात्रुको भीड राजधानीका सडकदेखि नयाँ बसपार्कसम्म देखिन थालेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार यात्रु काठमाडौं छाडेर बाहिरिएका छन्, जबकि सोही अवधिमा करिब २८ हजार यात्रु काठमाडौं भित्रिएका छन्। आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको तथ्यांकले उपत्यका छाड्नेको संख्या निरन्तर बढ्दो क्रममा रहेको देखाएको छ।

घटस्थापनादेखि नै कलेज, निजी कार्यालय र विद्यालयहरूमा बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको लहर तीव्र भएको हो। सरकारले दशैंको सार्वजनिक बिदा फूलपातीदेखि दिने व्यवस्था गरेको छ।

भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलनपछि सुरक्षाको चासो देखिए पनि अहिले अवस्था सामान्य बनेको छ। यसैले दशैं मनाउन गाउँ फर्किनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

हाल उपत्यकाका प्रमुख नाका र नयाँ बसपार्क क्षेत्रमा सामान्य अवस्था छ। यद्यपि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टा अवरुद्ध भएपछि केही समय सवारी चाप बढेको थियो। हाल सडक खुलिसकेको र आवागमन सहज हुँदै गएको ट्राफिक अधिकारीहरूले जनाएका छन्।

दशैंको सुरुवातसँगै राजधानीको भीड बिस्तारै गाउँतर्फ सर्दैछ, टीकाको आशिष र परिवारको माया भेट्न लाखौं पाइलाहरू काठमाडौंका सडकबाट बिदा लिँदै छन्।