देशव्यापी जेन–जेड प्रदर्शनको क्रममा गत भदौ २४ (सेप्टेम्बर ९) मा नवलपरासी कारागारबाट भागेका कैदी क्रमशः फर्किन थालेका छन्। जेलर बिकाल श्रेष्ठका अनुसार भागेका ५४६ मध्ये हालसम्म २२२ जना कैदी पुनः कारागारमा फर्किएका छन्।
श्रेष्ठका अनुसार कैदीहरूले सुरक्षा घेरालाई नियन्त्रणमा लिएर सामूहिक रूपमा भागेका थिए। तर १७ पुरुष र १२ महिला भने कारागारमै रहेर नभाग्ने निर्णयमा अडिग रहे।
भागेका कैदीलाई फर्कन सार्वजनिक सूचना जारी गरिएपछि दैनिक रूपमा कैदीहरू स्वेच्छाले फर्किन थालेको जेलर श्रेष्ठले जानकारी दिए। भागेकामध्ये ४० जना भारतीय नागरिक रहेको र तीमध्ये १ जना फर्किसकेको समेत उनले बताए।
यस्तै, हालसम्म १३ जना कैदीलाई अन्य कारागारमा सारिएको छ भने अन्य कारागारबाट ६ जना कैदी नवलपरासीमा ल्याइएको छ। उनका अनुसार काठमाडौं केन्द्रीय कारागारबाट भागेका दुई जना मोरोक्कन र एक जना दक्षिण अफ्रिकी नागरिक समेत अहिले नवलपरासी कारागारमा रहेका छन्।
