सुनको भाउ फेरि उकालो, प्रतितोला २ लाख ३८ हजारमा नयाँ रेकर्ड

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। हिजो मात्र प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको सुन आज फेरि २ हजार ६०० रुपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन अर्थात् मंगलबार सोही दर २ लाख ३५ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने आज केही घटेको छ। हिजो प्रतितोला २,९६० रुपैयाँ रहेको चाँदी आज २,९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

विश्व बजारमा पनि सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै पहिलोपटक प्रतिऔंस ४ हजार २५ अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले जनाएका छन्।

यस वर्ष सुरुदेखि अहिलेसम्म सुनको मूल्य ५१ प्रतिशतले वृद्धि भएको छ। विश्लेषकहरूका अनुसार भू–राजनीतिक तनाव, आर्थिक अनिश्चितता र केन्द्रीय बैंकहरूद्वारा ठूलो परिमाणमा सुन खरिद गरिनु मूल्य बढ्नका प्रमुख कारण हुन्।

साथै, सुन–सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ETF) मा लगानी बढ्नु, कमजोर अमेरिकी डलर र खुद्रा लगानीकर्ताहरूको आकर्षणले पनि बजारमा सुनको माग निरन्तर बढाइरहेको छ।