नेपाली अटोमोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सन् २०२५ का पहिलो सात महिनाको तथ्यांकले मोटरसाइकल क्षेत्रमा उल्लेखनीय उतार–चढाव देखाएको छ। जनवरीदेखि जुलाईसम्म नेपालमा १ लाख २५६ युनिट मोटरसाइकल भित्रिएका छन्, जसमा बजाजले आफ्नो अग्रता कायमै राखेको छ।
आयातको आधारमा बजाजले कुल बजारको ५४.७८ प्रतिशत हिस्सा ओगट्दै शीर्ष स्थान सुरक्षित गरेको छ। कम्पनीका आधिकारिक वितरक हशंराज हुलास चन्द एण्ड कम्पनीका अनुसार सो अवधिमा ५४ हजार ९३१ युनिट मोटरसाइकल नेपाल ल्याइएको हो। पल्सर सिरिज, डोमिनार, एभेन्जर र डिस्कभर मोडलहरू हाल बजारमा लोकप्रिय छन्।
दोस्रो स्थानमा हिरो मोटरसाइकल रहेको छ। सीजी मोटर्सले १२ हजार ५४५ युनिट आयात गरी १२.५१ प्रतिशत बजार हिस्सा हासिल गरेको छ। एक्सपल्स, स्प्लेण्डर, एक्सट्रीम लगायतका मोडलहरू उपभोक्तामाझ लोकप्रिय छन्।
तेस्रो स्थानमा रहेको यामाहा ले १० हजार २२२ युनिट आयात गर्दै १०.१९ प्रतिशत हिस्सा ओगटेको छ। एमएडब्लू राइडमार्फत बिक्री हुने एफजेड, आर१५, एमटी१५, सलुटो र एक्सटीजेड मोडलहरू हाल बजारमा उच्च मागमा छन्।
त्यसपछि टीभीएस चौथो स्थानमा रहेको छ, जसले ८ हजार ५०० युनिट मोटरसाइकल ल्याएको छ। अपाचे आरटीआर सिरिज, रेडर र रोनिन मोडलहरू यसको मुख्य आकर्षण हुन्।
पाँचौं स्थानमा रोयल इन्फिल्ड रहेको छ। कम्पनीले ७ हजार ५६२ युनिट मोटरसाइकल आयात गरेको छ, जसमा क्लासिक ३५०, हन्टर, मेटियर र हिमालयन मोडल लोकप्रिय छन्।
अन्य साना ब्राण्डहरूमा केटीएम (५२२ युनिट), सुजुकी (१०८), जोनसेन (४५), जुमाभ (४५), सीएफ मोटो (३५) र अन्य (४०) युनिट मोटरसाइकल आयात भएका छन्।
