एशियन ब्याट्रीको व्यापार २० प्रतिशत वृद्धि, पाँच वर्षमै तीनगुणा विस्तार

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार

विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियतासँगै ब्याट्री बजारमा सशक्त उपस्थिति बनाउँदै आएको एशियन ब्याट्री कम्पनीले उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। कम्पनीले एक वर्षको अवधिमा आफ्नो कारोबारमा २०.११ प्रतिशत वृद्धि गरेको छ।

कम्पनीका अनुसार सन् २०२५ को अन्त्यमा ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको ५१ करोड ७० लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। सन् २०१२ मा स्थापना भएको कम्पनीले सन् २०२३ मा ४३ करोड रुपैयाँ, र सन् २०२२ मा २२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

यस अनुसार, कम्पनीले २०२१ देखि २०२५ सम्म वार्षिक औसत २९ प्रतिशतको दरले व्यापार विस्तार गर्न सफल भएको छ। छोटो अवधिमा व्यापार झन्डै तीन गुणा पुगेको कम्पनीले जनाएको छ।

नाफाको दर पनि क्रमिक रूपमा बढ्दै गएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३.३९ प्रतिशत खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २.३२ प्रतिशत भन्दा उच्च हो।

विराटनगरस्थित एशियन ब्याट्रीले विद्युतीय सवारीसाधन, अटोमोटिभ र ट्युबलर ब्याट्री उत्पादन गर्दै आएको छ। वार्षिक ५४ मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले आवश्यक कच्चा पदार्थको करिब ७० प्रतिशत आन्तरिक बजारबाटै आपूर्ति गर्दै लागत घटाउने रणनीति अपनाएको छ।

विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा फैलिँदै गइरहेका बेला एशियन ब्याट्रीको व्यापारिक उछालले स्वदेशी उत्पादनमा उपभोक्ताको भरोसा बढ्दै गएको संकेत गरेको छ।

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार