सुन प्रतितोला २ लाख ३८ हजार पुग्दा चाँदी पनि महँगियो

नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्यमा तीव्र वृद्धि भएको छ। लगातारको उतार–चढावपछि आज सुनको मूल्य प्रतितोला ३,००० रुपैयाँले बढ्दै इतिहासकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार सो सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ थियो।

सुनको मूल्य गत शुक्रबार केही घटेपनि आज पुनः उकालो लाग्दै बजारमा नयाँ रेकर्ड बनाएको छ। मूल्यवृद्धिसँगै सुन खरिदकर्तामा प्रतीक्षा मनोवृत्ति देखिएको छ भने व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य अझै बढ्न सक्ने अनुमान गरेका छन्।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १ सय २५ रुपैयाँमा पुगेको छ।