डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न थालेका छन्।
प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले पुनः किस्ता तिर्न सुरु गरेका छन्। यी तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिएर केही रकम बुझाए पनि गत वैशाखदेखि तिर्न छाडेका थिए।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको ३ करोड ७७ लाख रुपैयाँ बक्यौतालाई २८ किस्तामा बुझाउने स्वीकृति पाएको थियो। मासिक किस्ता १३ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो। उद्योगले सुरुमा चार किस्ता बुझाए पनि वैशाखपछि तिर्न छाडेको थियो। हाल उद्योगले तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ एकैपटक बुझाएको र जेठसम्मका किस्ता चुक्ता भएको नेपाल विद्युत प्राधिकरण, प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए।
उनका अनुसार सम्राट सिमेन्टले असारदेखि असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये ७ किस्ता मात्र बुझाएको र बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ तिर्न प्राधिकरणले पुनः पत्राचार गरेको छ। उद्योगले बाँकी रकम तिरेर आगामी किस्ता नियमित गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो। उद्योगले ६ किस्ता तिरेर रोकेको भए पनि हाल ५ किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक बुझाएर पुनः नियमित किस्ता तिर्न थालेको छ। अब उद्योगका १७ किस्ता बाँकी छन्।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो बक्यौता रकम पूर्ण रूपमा चुक्ता गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अधिकारीहरूका अनुसार विद्युत् महसुल बक्यौता उद्योगहरूले तिर्न थालेपछि राजस्व असुलीमा सुधार देखिएको छ र बाँकी उद्योगहरूलाई पनि किस्ता नियमित गर्न पुनः पत्राचार र निगरानी तीव्र बनाइएको छ।
