नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ।
प्राधिकरणले आज मंगलबार बिहानै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ।
जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ छ।
तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जामन्त्री बनेपछि आफ्नो अभियान कार्यान्वयन गरेका हुन्।
जेनजी आन्दोलनको बलमा गठित अन्तरिम सरकारमा मन्त्री बन्नासाथ कुलमानले विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर उनको स्थानमा मनोज सिलवाललाई नियुक्ति गरी बक्यौता उठाउने अभियान अघि बढाएका हुन्।
शाक्यलाई भने सेवा-सुविधा र पद दुवै बढ्ने गरी घिसिङले जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्य बनाएका छन्।
