युलेन्स एजुकेशनमा नेतृत्व परिवर्तन र पुन: सञ्चालनको तयारी

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार

नेपालका उच्चस्तरीय निजी शिक्षण संस्थामध्ये अग्रस्थानमा रहेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्ला समय विभिन्न विवाद र चर्चाको केन्द्रमा रहँदै आएको छ। सन् २००६ मा स्थापना भएको यो स्कुलले महँगो शुल्क लिने संस्थाको छवि बनाएको छ।

हालै, निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट असोज ११ गते राजीनामा दिएकी छन्। उनकाे स्थानमा हाल सोमप्रसाद पेनेरुलाई अध्यक्ष पदमा नियुक्त गरिएको छ।

स्कुल हाल बन्द अवस्थामा भए पनि व्यवस्थापनले पुन: सञ्चालनको तयारी गरिरहेको छ। युलेन्समा हाल १,२०० विद्यार्थी, १५० दक्ष शिक्षक र ३०० कर्मचारी कार्यरत छन्। काठमाडौंस्थित मुख्य भवन ४० हजार स्क्वायर फिटमा फैलिएको छ भने काभ्रेपलाञ्चोकको नालामा रहेको ‘लर्निङ सेन्टर’मा ७२ विद्यार्थी र ६ शिक्षक छन्।

गत आर्थिक वर्षमा स्कुलको कारोबार ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७६ करोड ५० लाख र सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँको कारोबार भएको केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार, पछिल्ला दुई वर्षमा ३२–३३ प्रतिशत नाफा आर्जन गरिएको दाबी गरिएको छ।

यद्यपि, भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा स्कुलमा तोडफोड र आगजनी भएको थियो। आन्दोलनकारीले क्यान्टिन, साइन्स ल्याब, आर्ट रुम, तीनवटा पुस्तकालय (२० हजार पुस्तकसहित), सभा हल र अन्य संरचना पूर्ण रूपमा क्षतिग्रस्त पारेका थिए।

त्यस घटनाले स्कुलको कर्जासम्बन्धी रेटिङमा पनि असर पुर्‍याएको देखिन्छ। युलेन्सले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ। जसमा ६० करोड दीर्घकालीन र ५ करोड अल्पकालीन कर्जाका लागि हो। रेटिङमा ‘Placed with Credit Watch with Negative Implication’ उल्लेख गरिएको छ, जसले वित्तीय जोखिम संकेत गर्छ।

स्कुल प्रशासनले हाल सुरक्षा र संरचनागत सुधार गर्दै पुन: सञ्चालनको तयारीमा लागेको जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार