प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित हायात रेजेन्सी होटलका सेवा बन्द र कर्मचारीलाई प्रवेश निषेध गरिएको विषयमा गम्भीर चासो व्यक्त गरेकी छिन्। प्रधानमन्त्रीको ध्यानाकर्षणपछि अर्थमन्त्री रमेश्वर खनालले आज बिहानै होटल व्यवस्थापनसँग प्रत्यक्ष भेटवार्ता गरी घटनाबारे जानकारी लिएका छन्।
बैठकमा मन्त्री खनालले सरकार होटलको सुरक्षाबारे पूर्ण ग्यारेन्टी दिन तयार रहेको बताएका छन्। उनले होटल व्यवस्थापनलाई सेवा अवरुद्ध नगरी सञ्चालनमा फर्किन आग्रह गरेका छन्। खनालले भने, “आत्तिनुपर्ने कुनै कारण छैन। उच्च मनोबलका साथ सेवा सञ्चालन गर्नुहोस्। सरकार तपाईंहरूसँग छ। आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था सुनिश्चित गरिनेछ। व्यवसाय अविच्छिन्न रूपमा सञ्चालन गर्नुहोस्।”
अर्थमन्त्रीले भनेका छन्, सरकारले निजी क्षेत्रका संस्थानहरूको सुरक्षालाई गम्भीरतापूर्वक लिनेछ र यस्ता घटनाहरूले लगानी र पर्यटनमा नकारात्मक सन्देश नजाओस् भन्ने सरकारको नीति रहेको छ। यस विषयमा सरकार र होटल व्यवस्थापनबीच आगामी आइतबार थप छलफल हुने र त्यसपछि आवश्यक व्यवहारिक कदम चालिने बताइएको छ। स्रोतका अनुसार, प्रधानमन्त्री कार्यालयले पनि हायात रेजेन्सीमा देखिएको विवाद र सेवा निलम्बनका कारणको विस्तृत प्रतिवेदन माग गरेको छ।
सरकारको उच्च तहबाट चासो प्रकट भएपछि होटल व्यवस्थापनले पनि सेवा छिट्टै पुनः सुरु गर्ने संकेत गरेको छ।
हायात रेजेन्सी काठमाडौं नेपालको प्रमुख पाँचतारे होटलहरूमध्ये एक हो, जहाँ विदेशी पर्यटक, कूटनीतिज्ञ र उच्चस्तरीय कार्यक्रमहरू हुने गर्छन्। सरकारको तर्फबाट आएको प्रत्यक्ष संवाद र सुरक्षाको आश्वासनले अब होटल क्षेत्र फेरि सामान्य अवस्थामा फर्कने सम्भावना बढेको देखिएको छ।
