नेपाल सरकारले मलेसिया सरकारले तय गरेको कामदार लैजाने १० बुँदे मापदण्ड औपचारिक रूपमा अस्वीकार गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त मापदण्ड हालको अवस्थामा स्वीकार र कार्यान्वयन गर्न नसकिने भन्दै मलेसिया सरकारलाई आधिकारिक पत्र पठाएको हो।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार, मलेसिया सरकारले ल्याएको सो मापदण्डप्रति नेपालका म्यानपावर व्यवसायीहरूले असहमति जनाएका कारण तत्काल लागू गर्न नसकिने निष्कर्ष निकालिएको हो। घिमिरेका अनुसार, “यो मापदण्ड हाम्रो वैदेशिक रोजगार नीति र विद्यमान कानुनअनुसार छैन, त्यसैले हालैको अवस्थामै कार्यान्वयन सम्भव छैन,” भन्ने अभिव्यक्ति पत्रमा उल्लेख गरिएको छ।
यसअघि, गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्की ले पनि नयाँ मापदण्डबारे चासो व्यक्त गर्दै श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा मापदण्डका प्रावधानले निजी क्षेत्र र श्रमिक दुवैमा असर पार्ने सम्भावना रहेको निष्कर्ष निकालिएको थियो।
म्यानपावर व्यवसायीहरूले समेत उक्त १० बुँदे मापदण्ड “सिन्डिकेट थोपर्ने प्रयास” भन्दै ती शर्तहरू कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनीहरूले मलेसिया सरकारले अनिवार्य गरेको खण्डमा नेपाली कामदार नपठाउने चेतावनीसमेत दिएका छन्।
मलेसिया सरकारले २०२५ अक्टोबर २७ मा कूटनीतिक नोट पठाउँदै नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीका लागि नयाँ मापदण्ड लागू गर्ने प्रस्ताव गरेको थियो। मलेसियाले १५ नोभेम्बर, २०२५ भित्र ती देशहरूबाट आधिकारिक प्रतिक्रिया मागेको छ।
मलेसियाको १० बुँदे मापदण्डमा निम्न शर्तहरू रहेका छन् —
-
म्यानपावर कम्पनीले कम्तीमा ५ वर्ष पुरानो इजाजतपत्र लिएको हुनुपर्ने,
-
पछिल्ला ३ वर्षमा कम्तीमा ३ हजार कामदार पठाएको अनुभव हुनुपर्ने,
-
पछिल्ला ५ वर्षभित्र कम्तीमा ३ देशमा श्रमिक पठाएको रेकर्ड हुनुपर्ने,
-
भर्ती, तालिम, मूल्यांकन लगायतका सबै प्रक्रिया वैध अनुमति प्राप्त निकायमार्फत गर्नुपर्ने,
-
र कम्पनीले आफ्नै देशबाट जारी गरिएको ‘गुड कन्डक्ट सर्टिफिकेट’ (सदाचार प्रमाणपत्र) प्राप्त गरेको हुनुपर्ने।
नेपालले यस मापदण्डलाई अत्यधिक प्रतिबन्धात्मक र व्यावहारिक रूपमा असम्भव भन्दै अस्वीकार गरेको हो। मन्त्रालयले आगामी दिनमा दुवै देशबीच नयाँ सहमति र व्यवहारिक कार्यान्वयनका लागि वैकल्पिक प्रस्ताव तयार गर्ने संकेत गरेको छ।
