चीनको आश्वासन: निर्वाचन सफलता र विकासमा पूर्ण सहयोग

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार

चीनका लागि नेपालका राजदूत छन सङले आसन्न आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनले नेपाल सरकारलाई आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित द्विपक्षीय सहयोग, व्यापार, लगानी तथा ‘बेल्ट एण्ड रोड’ (बिआरआई) परियोजनाको प्रगतिबारेको छलफल कार्यक्रममा बोल्दै उनले नेपाल–चीन विकास साझेदारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए।

राजदूतका अनुसार बिआरआईअन्तर्गतका धेरै परियोजना प्रशासनिक प्रक्रियामा रहेकाले छिट्टै कार्यान्वयन चरणमा प्रवेश गर्नेछन्। “नेपालमा व्यापार, लगानी र औद्योगिक पार्क निर्माणमा राम्रो प्रगति देखिएको छ। केही ढिलाइ स्वाभाविक हो,” उनले स्पष्ट पारे।

उनले आसन्न निर्वाचनपछि बन्ने स्थायी सरकारले बिआरआई परियोजनालाई तीव्रगतिमा अघि बढाउने विश्वास व्यक्त गरे। राजदूतले चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाले नेपालसहित छिमेकी देशहरूको विकास आवश्यकतालाई प्राथमिकतामा राखेको उल्लेख गरे। नेपालका कृषि उत्पाद चिनियाँ बजारमा पठाउने तयारी अन्तिम चरणमा पुगेको र यसले कृषि तथा उद्योग क्षेत्रलाई लाभ पुग्ने उनले जानकारी दिए।

छन सङका अनुसार नेपालमा स्थिरता, विकास र समृद्धि प्रवर्द्धन चीनको प्राथमिकता हो। नेपालको सुस्त विकास गतिलाई तीव्रता दिन दीर्घकालीन रणनीतिक साझेदारी अपरिहार्य भएको उनको भनाइ छ।

ताइवान, हङकङ र मकाउ चीनका अभिन्न भाग भएको मान्यताप्रति नेपालले निरन्तर समर्थन जनाइरहेकामा उनले कृतज्ञता व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशबीच मजबुत सहकार्य रहेको र संयुक्त राष्ट्र संगठनलाई आधार बनाई दुवैले बहुपक्षीय प्रणालीलाई समर्थन गरिरहेको बताए। राजदूतका अनुसार चीन–नेपाल सम्बन्ध सधैँ सुमधुर र स्थिर छ।

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार