नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ले आफ्नो ८९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंकले मिति २०८२ साल कार्तिक ३० गते ८८ वर्ष पूरा गरी ८९औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरेको थियो। समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्मा ले गरेका थिए।
नेपाल बैंक हाल २३१ शाखा, २३७ एटिएम, र ६१ एक्टेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धात्मक सेवा सुविधा प्रदान गरिरहेको छ। करिब १० लाख ग्राहकहरूले डिजिटल बैंकिङ सेवा मार्फत लाभान्वित भएको बताइएको छ।
समारोहमा २५ वर्ष अटुट सेवा गर्ने ३ जना र २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, सुरक्षास्थितिको चुनौतीका बाबजुद महत्वपूर्ण योगदान दिने गौरादह र नयाँ वानेश्वर शाखाका सुरक्षाकर्मीहरू पुरस्कृत भएका थिए। प्रादेशिक तथा भौगोलिक उत्कृष्टता हासिल गरेका १२ शाखा पनि सम्मानित भएका थिए।
सभाका अध्यक्ष डा. शर्मा ले कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरित गर्दै उच्च मनोबल र इमान्दारीका साथ कार्य गर्न आग्रह गरे। साथै, बैंक र व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास पनि व्यक्त गरे।
