नेपालको आर्थिक भविष्य उज्यालो बनाउन विप्रेषण (Remittance) को योजनाबद्ध, बुद्धिमानीपूर्ण र उत्पादक प्रयोग गर्नु आजको सबैभन्दा महत्वपूर्ण कदम हो, विशेषज्ञ राजेन्द्र मल्लले बताएका छन्।
उनका अनुसार, विदेशमा रहेका नेपाली श्रमिकहरूले पठाएको रकम केवल उपभोगमा होइन, उत्पादनमुखी र निर्यातमुखी क्षेत्रमा प्रयोग गर्नुपर्छ। सही रूपमा परिचालित भएमा नेपाल चाँडै आयात निर्भर अर्थतन्त्रबाट उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ।
मल्लले भने, “विप्रेषणलाई केवल उपभोगमा सीमित नगरी कृषि आधुनिकीकरण, जलविद्युत्, साना उद्योग, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा लगानी गर्न सके देशमै लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना हुन्छ, भित्री पुँजीको प्रवाह बढ्छ, र गाउँ–गाउँको अर्थतन्त्रमा नयाँ ऊर्जा प्रवेश गर्छ।”
उनले जोड दिएका छन् कि देशभरि वर्षौंदेखि बाँझो रहेको जग्गालाई आधुनिक कृषि, मल्टी-क्रप खेती, र वृक्षारोपण मार्फत तुरुन्त उत्पादनमा ल्याउनुपर्छ। माटो परीक्षण सेवा सरल, छिटो र निःशुल्क भएमा किसानले सही निर्णय गरी उत्पादन दुगुना गर्न र निर्यात क्षमता बढाउन सक्षम हुन्छन्।
