काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मर्मत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक “सडक मर्मत एम्बुलेन्स” सञ्चालनमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले सञ्चालनमा ल्याएको यो विशेष सेवा शुभारम्भ गरेका हुन्।
सडक डिभिजन कार्यालय, काठमाडौंले आफ्नो कार्यक्षेत्रभित्रका काठमाडौं जिल्लाका सामरिक महत्वका सडकछेउका गुनासो तुरुन्त सम्बोधन गर्ने लक्ष्यका साथ एम्बुलेन्स प्रयोगमा ल्याएको हो। एम्बुलेन्समार्फत सडकमा देखिने खाल्डाखुल्डी तथा भौतिक क्षति छिटो मर्मत गरी सुरक्षित र सहज आवागमन सुनिश्चित गरिनेछ।
यससँगै सडकमा देखिएका समस्या तत्काल सूचित गर्न मोबाइल एप पनि सार्वजनिक गरिएको छ। प्रयोगकर्ताले खाल्डो वा क्षतिको फोटो खिचेर एपमा अपलोड गर्न सक्छन्, जसपछि त्यसैअनुसार मर्मत कार्य अघि बढाइनेछ। मर्मतपछि अद्यावधिक विवरण पनि एपमार्फत उपलब्ध हुनेछ।
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्सलाई नेपालमा पहिलोपटक नमुना परियोजनाका रूपमा अघि बढाइएको बताए। उनले यो सेवालाई अन्य मुख्य शहरहरूमा विस्तार गर्दै विकसित देशहरूको अवधारणामा आधारित अत्याधुनिक उपकरण थप आवश्यक रहेको उल्लेख गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले एम्बुलेन्स सेवाले सडक मर्मतसम्बन्धी गुनासोलाई तुरुन्त सम्बोधन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यो सेवा सडक मर्मत प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनेमा जोड दिए।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाका अनुसार एम्बुलेन्स २४ घण्टा र ३६५ दिन तयारी अवस्थामा रहनेछ। तालिमप्राप्त प्राविधिक टोलीले सूचना पाएलगत्तै घटनास्थलमा पुगेर छिटोछरितो मर्मत सम्पन्न गर्नेछ। ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती जडान गरिएको छ, जसले भीडभाडका बेला पनि आकस्मिक रुपमा काम गर्न सहयोग गर्नेछ।
