नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को साधारण सभामा बोल्दै अध्यक्ष पाण्डेले भने, “आन्तरिक अर्थतन्त्र चापमा छ। बैंकमा लगानी योग्य रकम पर्याप्त भएपनि समग्र बजारको माग बढ्न सकेको छैन। अहिलेको सबैभन्दा ठुलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु हो। पैसा स्थिर बस्नु अर्थतन्त्रको लागि राम्रो होइन।”
उनले निजी क्षेत्रको लगानी बढ्नु आवश्यक रहेको बताए। पाण्डेले भने, “निजी क्षेत्रको लगानी बढ्यो भने मुलुकको अर्थतन्त्र विस्तार हुन्छ। अर्थतन्त्र सुदृढ भयो भने मात्रै मुलुक समृद्ध हुन्छ। युवाहरूले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ। त्यसैले पूर्वाधार विकास र सामाजिक विकासमा योगदान पुग्छ।”
बजारमा पैसा ल्याउनका लागि सरकारले पुँजीगत खर्च बढाउनु पर्ने पाण्डेको सुझाव छ। उनले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको टिप्पणी गर्दै, “सरकार बजेट कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुनुपर्छ। आर्थिक मुद्दालाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्छ। राजनीति भन्दा माथि आर्थिक मुद्दा प्राथमिकता पाउनुपर्छ।”
अध्यक्ष पाण्डेले समग्रतमा निजी लगानी बढाएर अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने र समाजमा समृद्धि ल्याउने आवश्यकता औँल्याएका छन्।
